काठमाडौं, मंसिर ६
यही मंसिर १० र ११ गते काठमाडौमा हुने १८ औं सार्क शिखर सम्मेलनका तयारी बैठकहरु आजदेखि काठमाडौंमा सुरु भएको छ । सार्क सम्मेलनअन्तर्गत आज भएको कार्यक्रम समितिको बैठकले सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन वटा खारेज गर्न र चार वटालाई एकापसमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ । खारेज गर्न सिफारिस गरिएका केन्द्रमा सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र छन् । त्यस्तै गाभ्न सिफारिस गरिएका केन्द्रमा वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्र छन् ।
बैठकले प्रस्ताव गरेको सो सिफारिसलाई सन् २०१५ डिसेम्बरदेखि प्रक्रियामा लगी अन्तिम रुप दिइने सार्क महासचिव अर्जुनबहादुर थापाले जानकारी दिनु भयो । शिखर सम्मेलनको प्रारम्भका रुपमा लिइने उक्त बैठकले सार्क संरचनाको हेरफेर र जिम्मेवारीलाई निर्धारण गर्नसमेत प्रस्ताव गर्ने जनाइएको छ ।
होटल सोल्टीमा भएको समितिको बैठकमा आठ वटै सदस्य राष्ट्रका सहसचिवको नेतृत्वको टोलीको सहभागिता छ । बैठकको प्ररम्भमा सार्कका महासचिव थापाले स्वागत गरेका थिए । कार्यक्रम समितिको अध्यक्षता माल्दिभ्सले नेपाललाई हस्तान्तरण गरेको छ । समितिको बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको नेतृत्वमा टोली सहभागी छ ।
No comments:
Post a Comment